काठमाडौं- उखु किसानको बक्यौता रकम नतिर्ने दुई चिनी उद्योगका संचालकविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिल र जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालकलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो।
अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको प्रमुख जिल्ला अधिकारी सुदेन्द्र पौडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘अन्नपूर्ण सुगर मिलका संचालकलाई पक्राउ गर्न आज पुर्जी जारी भएको छ‚’ उनले भने।
सर्लाहीकै अरु चिनी उद्योगले पनि किसानको बक्यौता रकम तिर्न बाँकी भएपनि अरु उद्योगका संचालकविरुद्ध भने पक्राउ पुर्जी जारी नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
त्यस्तै श्रीराम सुगर मिलका संचालकविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘जाहेरी लिएर अदालतमा पेश गरेका छौं। त्यहाँबाट पक्राउ पुर्जी जारी हुन्छ। आजको कार्यालय समय सकियो। तर पनि हामी आजै पक्राउ पुर्जी आजै जारी गर्ने प्रयासमा छौं‚’ उनले भने‚ ‘उद्योगीहरु काठमाडौं मै छन। पक्राउ आदेश जारी भएपछि प्रहरीले पक्राउ गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।