काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरूले संघीय संसद्को विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति निवास पुगेका हुन्।
संसद्मा तत्काल कायम भएकामध्ये एक चौथाइ सभासदले हस्ताक्षरसहित निवेदन गरेमा विशेष अधिवेशन डाक्नुपर्ने कानुनी व्यवस्था छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र पनि विशेष अधिवेशन तत्काल बोलाउन दबाब दिनुपर्ने माग चर्किरहेको छ। संसदको नियमित अधिवेशन नै पुस १८ गते अघि बोलाउनुपर्ने सरकारको बाध्यता छ। असार १८ गते बजेट अधिवेशन अन्त्य भएको थियो। अब नियमित अधिवेशन बोलाउने समय पनि सोही बराबर मात्र बाँकी रहेको छ।
संसद्को एक चौथाइ ६९ जना आवश्यक हुन्छ। राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा प्रचण्ड-नेपाल समूहका ८० जना भएको बुझिएको छ।
कति सांसद चाहिन्छ विशेष अधिवेशन बोलाउन?
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मात्र संसदको विशेष अधिवेशन माग गरेमा आफ्नो मात्रै संख्याले पुग्दैन। नेकपाका केही सांसद र राजपाका मिलेर राष्ट्रपतिलाई हस्ताक्षर बुझाएमा भने यो अंकगणित पुग्ने देखिन्छ।
संविधानको धारा ९३ को उपधारा (३) मा विशेष अधिवेशनको माग गर्ने व्यवस्था छ। ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ संविधानमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।