काठमाडौं- इंग्लिस प्रिमियर लिगमा मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टब्रुमसँग १-१ को बराबरी खेलेको छ। खेलको ३०औँ मिनेटमा गुन्डोगनको गोलमार्फत बनाएको अग्रता ४३औँ मिनेटमा डायसको आत्मघाती गोलले बराबरीमा पुगेको थियो।
खेलपछि प्रतिक्रिया दिँदै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफूहरुले यस्तो खेल जित्नुपर्ने बताएका छन्। बराबरीपछि १२ खेलमा २० अंकसहित लिग तालिकामा छैटौँ स्थानमा रहेको सिटी शीर्षमा रहेको टोटनह्यामभन्दा पाँच अंकले पछि छ।
‘सिजनमा अझ धेरै खेलहरु नै बाँकी छ तर यदि शीर्षमा हुनु छ भने हामीले यस्तो खेलहरु जित्नुपर्ने हुन्छ। हामीले गोलका अवसरहरु पनि बनायौँ, खेल नियन्त्रणमा नै राख्यौँ तर जित्न सकेनौँ। खेल नतिजामा निर्भर हुन्छ त्यसैले जित्नैपर्छ’ उनले भनेका छन्।
खेलमा ७७ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पनि सिटीले जितमा बढ्न सकेन। सिटीले वेस्टब्रुमविरुद्ध गरेका २६ प्रहारमा ७ प्रहार पोस्टको दिशामा थियो। वेस्टब्रुमले गरेका ५ प्रहारमा १ प्रहार मात्र पोस्टको दिशामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।