काठमाडौं- मंगलबार दोस्रो बजारमा तीव्र उतारचढावसहित ५ दशमलव ७५ अंकको गिरावट भएको छ। कारोबार खुलेको केही समयमै नेप्से सूचक २१०० दशमलब ६८ अंक पुगेर अन्तिममा २०६१ दशमलब ४१ अंकमा रोकिएको हो। सोमबार एकै दिन नेप्से सूचक ५६ अंकले सुधार भएको थियो।
सुधारिएको बजारमा नाफा बुक गर्ने क्रममा मंगलबार सामान्य करेक्सन भएको बजार विश्लेषकहरु बताउँछन्। लगानीकर्ताले बजार जुनसुकै बेलामा झर्न विश्लेषण गर्दै नाफा बुक गरिरहेका छन्। नाफा बुक हुँदा पनि बजार सुधार भइरहेकाले उनिहरुले पोर्टफोलियो परिवर्तन गरिरहेका छन्। नाफाको पैसा अन्य क्षेत्रमा लगानी गर्नेभन्दा पनि अन्य समूहका कम्पनीमा लगानी गर्दा बजार लगातार सुधार भइरहेको छ।
मंगलबार ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ। २०५ वटा कम्पनीको कारोबार हुँदा ५४ वटाको मात्रै मूल्य बढेको छ भने १०३ वटाको मूल्यमा गिरावट आएको छ। मंगलबार लघुवित्तको सेयरमा उछाल आइरहेको छ। लघुवित्तले अन्य कम्पनीको तुलनामा राम्रो लाभांश वितरण गरेकाले लगानीकर्ताको ध्यान लघुवित्तको सेयरमा परेको हो। लघुवित्तले पुँजी बढाउन नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै आइरहेका छन्।
बैंकिङ, जीवन बीमा कम्पनी र माइक्रोफाइनान्सको सूचकमा सुधार आए पनि बाँकी सूचक तथा उपसूचकमा गिरावट आएको छ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५२ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। सेयर संख्याको हिसावले सबैभन्दा धेरै नेपाल बैंकको ५ लाख ४४ हजार कित्ता कारोबार भएको छ। बैंकको सेयर मूल्य ४१७ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।