काठमाडौं-बंगलादेशसँग जिटुजी प्रकृयाबाट ५० हजार मेट्रिक टन युरिया मल खरिदको सम्झौता गर्न ४ सदस्यीय टोली आज बंगलादेश जाने भएको छ।
मल खरिदका विषयमा बंगलादेशसँग विस्तृत छलफल र सम्झौतापत्रमा हस्ताक्षर गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सहसचिव कञ्चनराज पाण्डे, शाखा अधिकृत अरुण जिसी, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक नेत्रबहादुर केसी र निर्देशक विष्णुप्रसाद पोखरेल बंगलादेश जान लागेका हुन।
कृषि सामग्री कम्पनीका प्रवक्तासमेत रहेका पोखरेलले मल खरिदको छलफल र सम्झौता टुंगो लगाउन आफूहरु बंगलादेश जान लागेको बताए।
मल खरिदका लागि मूल्यको समेत टुंगो लागेपछि नेपाली टोली सम्झौताका लागि बंगलादेश जान लागेको हो। तर प्रवक्ता पोखरेलले कुन मूल्यमा मल खरिद गर्न लागिएको हो भन्ने खुलाएनन्। ‘जिटुजीबाट मल ल्याउने भनेर मन्त्रिपरिषदले निर्णय गरिसकेको छ। बंगलादेशबाट मल ल्याउँदा ग्लोबल टेण्डरमा ल्याउने भन्दा सस्तो पर्न जान्छ,’ उनले भने।
बंगलादेशबाट मल ल्याउनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मलको ब्यागिङ र ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।