काठमाडौं- भन्सार समन्वय समितिको बैठकले नेपालले सिंगल विन्डो प्रणाली तत्काल लागू गरी अघि बढ्ने निर्णय गरेको छ। सोमबार भन्सार विभागका महानिर्देशक सुमन दाहालको अध्यक्षतामा भएको बैठकले सिंगल विन्डो प्रणाली लागू गरेर अघि बढ्ने निर्णय गरेको हो।
भन्सार जाँचपास प्रक्रिया र वैदेशिक व्यापारसँग प्रत्यक्ष रुपमा जोडिने विभिन्न सरोकारवाला निकाय तथा आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग छलफल भएको थियो।
भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउने, अन्तरनिकाय समन्वय र सूचना आदानप्रदान सहज बनाउने र वैदेशिक व्यापार सहजीकरणमा सबै निकाय मिलेर अघि बढ्ने विषय केन्द्रमा राखेर छलफल गरिएको दाहालले जानकारी दिए।
'वैदेशिक व्यापारमा प्रतिबन्ध लागेका वस्तुको आयात भएमा पूर्वसूचना आदानप्रदान गर्ने, लाइसेन्स दिने, पर्मिट दिने, अनुगमन गर्ने निकायबीच काम कारबाही सहज बनाउने विषयमा पनि छलफल गरेका छौँ,' दाहालले भने, 'भन्सार सञ्चालन भएका बेलामा अन्य निकाय पनि बेलैमा सञ्चालन गर्ने, मालवस्तुको वर्गीकरण र हार्मोनाइज्ड कोड नमिलेको अवस्थामा मिलाउने विषयमा कुराकानी भएका छन्।'
'भन्सार जाँचपास प्रक्रियामा सहभागी हुने निकायबीच निरन्तर छलफल गरी उत्पन्न हुन सक्ने समस्या समाधान गर्ने निष्कर्षमा हामी पुगेका छौँ,' उनले भने, 'भन्सार नियमावलीमा भएको व्यवस्थाअनुसार नै यो छलफल गरेका हौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।