चितवन–चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो। यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले जानकाी दिए। ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही छाडिएका थिए। राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।
सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।
पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न नसकेको बताए। त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।