फाइल तस्बिर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न सवैधानिक परिषदको बैठक डाकेका छन्। प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबारको बैठक स्थगित भएकोमा मंगलबार पुनः बोलाइएको हो।
आजको बैठकमा पनि देउवा उपस्थित हुने–नहुने अन्योल नै रहे पनि प्रधानमन्त्रीले परिषद् बैठक राख्ने तयारी गरेका छन्। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ। करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् । संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।
ओलीले कांग्रेस सभापति देउवासँग सहमति जुटाएको तर आफूसँग परामर्श पनि गर्न आवश्यक नठानेको भन्दै उनी असन्तुष्ट भएका हुन्।
ओलीले बहुमत पद देउवालाई दिएर भए पनि संवैधानिक पदहरुमा रिक्तता टुंग्याउन चाहेकाले मंगलबारको बैठकबाटै धेरैजसो निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारीमा ओली छनन्।
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी सिफारिस गरे नेकपाभित्रको आन्तरिक विवाद फेरि बढ्ने देखिएको छ।
राजनीतिक नियुक्तिहरुमा अध्यक्षद्वयबीच सहमति कायम गर्ने गत स्थायी कमिटी बैठकले निर्णय गरे पनि अध्यक्ष ओलीले उल्लंघन गरेको उनको आरोप छ।
राजनीतिक नियुक्तिहरुमा ओलीले एकलौटी गरेको भन्दै नेकपामा पछिल्लो विवाद सुरु भएको थियो। गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीमा छलफल र परामर्श गर्ने भने पनि ओलीले राजदूत तथा मन्त्रीहरुमा एकलौटी गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए। पछिल्लो पटक तीन जना मन्त्री बनाउँदा पनि ओली, प्रचण्ड र माधव नेपाल पक्षका एक–एक जनालाई बनाइने सहमतिविपरीत ओलीले एकलौटी गरेको प्रचण्ड नेपाल पक्षको आरोप छ।
नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डले फरक–फरक प्रस्ताव ल्याएर एकअर्काप्रति आरोप लगाएपछि उनीहरुबीच सम्बन्ध चिसिएको छ।
संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था गरिएको छ।परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। प्रधानमन्त्री परिषद् अध्यक्ष हुन्छन्। अहिले उपसभामुख पद भने रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।