काठमाडौं- नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल संचालन गर्ने निर्णय गरेको छ। फिल्म हल बन्द भएको लामो समय बितिसक्दा पनि सरकारले संचालन गर्ने वातावरण नबनाएको भन्दै संघले स्वतस्फुर्त रूपमा हल संचालन गर्ने निर्णय गरेको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै संघले लामो समयसम्म बन्द रहेका फिल्म हल संचालनको वातावरण नबनाएको आरोप लगाउँदै आफूहरू यस्तो निर्णय लिन बाध्य भएको संघले बताएको छ।
हल संचालन गर्दा नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डसमेत अपनाइने संघको भनाइ छ।
यसका साथै संघले थप माग समेत अघि सारेको छ। चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रका रूमपा सम्बोधन गरी सहुलियत दिइनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महसुलको डिमान्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने र मौद्रिक नीतिमा चलचित्र क्षेत्र अनिवार्य रुपमा समावेश गरी राहत दिइनुपर्ने समेत संघको माग छ।
यस्तै चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनु पर्ने, मनोरञ्जन कर खारेज हुनु पर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनु पर्ने, चलचित्र विकास शुल्क खारेज हुनु पर्ने, बक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनु पर्ने पनि संघको माग छ।
यसैगरी, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार महसुल छुट गर्न समेत माग गरिएको छ।
गत चैत ११ बाट लकडाउन हुनुअघि नै सरकारले सबै फिल्म हल बन्द गर्न निर्देशन दिएको थियो। फिल्म हल बन्द भएको करिब ९ महिना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।