काठमाडौं- युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्ने भएका छन्। सोमबार भएको ड्र अनुसार दुई टिमको भेट हुने पक्का भएको हो।
अन्तिम १६ मा बोरुसिया मोन्चेनग्लादबाख र म्यानचेस्टर सिटी, लाजियो र बायर्न म्युनिक, एथ्लेटिको मड्रिड र चेल्सी, लाइपजिग र लिभरपुल, पोर्टो र युभेन्टस, सेभिया र बोरुसिया डोर्टमुन्ड, एटलान्टा र रियल मड्रिड खेल्नेछन्।
आउने फेब्रुअरीमा हुने अन्तिम १६ खेलका लागि तालिका तय गर्न समूह चरणको खेलमा शीर्षमा रहेर अन्तिम १६ मा पुगेका र दोस्रोमा रहेर पुगेका टिमलाई दुई भागमा राखेर गोलाप्रथाद्वारा टिमहरु छानिएको हो। अन्तिम १६ मा पहिलो लेगको खेल फेब्रुअरी १६, १७, २३ र २४ मा हुनेछन् भने दोस्रो लेगको खेल मार्च ९, १०, १६ र १७ मा हुनेछन्।
समूह विजेताका रुपमा बायर्न म्युनिक, बोरुसिया डोर्टमुन्ड, चेल्सी, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, पिएसजी र रियल मड्रिड अघि बढेका हुन्। यस्तै समूह उपविजेताका रुपमा एटलान्टा, एथ्लेटिको मड्रिड, बार्सिलोना, बोरुसिया मोन्चेनग्लादबाख, लाजियो, लाइपजिग, पोर्टो र सेभिया अघि बढेका थिए।
समूहबाट उपविजेता भएर अन्तिम १६ मा पुगेको टिमले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ भने विजेताका रुपमा अन्तिम १६ मा पुगेको टिमले पहिलो खेल अवे मैदानमा खेल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।