काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेमार घाइते भएका छन्। लिग वानमा आइतबार राति लियोनसँग १–० ले हारेको खेलमा नेमारको गोलिगाठाँमा चोट लागेको हो। थियागो मेन्डेसको खराब ट्याकलका कारण नेमार चोटमा परेका हुन्।
लियोनका लागि टोको इकाम्बीले ३५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। हारसँगै पिएसजी अंक तालिकामा तेस्रो स्थानमा झरेको छ। १४ खेल सकिँदा शीर्षमा रहेको लिले र दोस्रोमा रहेको लियोनको समान २९ अंक छ भने पिएसजीको २८ अंक रहेको छ।
पिएसजीका प्रशिक्षक थोमस टचेलले अब जाँचपछि मात्र नेमारको चोटको अवस्था थाहा हुने बताएका छन्। ‘उनी फिजियो र डाक्टरसँग नै छन्। अब जाँच गरेपछि मात्रै बाँकी कुरा थाहा हुनेछ’ उनले भने।
खेलमा नेमार चोटमा पर्नुअघि पनि विभिन्न ६ पटक उनीमाथि खराब ट्याकल भएको थियो। तर खेलको ९६औँ मिनेटमा मेन्डेसको ट्याकल भने महँगो साबित भयो। नेमार मैदान छाड्दा उनको आँखामा आँसु देखिन्थ्यो।
२०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा नेमार स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका थिए। पिएसजीमा लगातार तीन सिजन लिग उपाधि जितेका नेमार गएको सिजन च्याम्पियन्स लिग फाइनल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।