काठमाडौं-वीरगञ्ज भन्सारमा एकीकृत जाँच चौकी (आइसिपी)को सहज सञ्चालनका लागि सरोकारवालाले जोड दिएका छन्। अर्थ मन्त्रालयका राजस्व सचिव, भन्सार विभागका महानिर्देशकलगायतका उच्च सरकारी अधिकारीसँगको छलफलमा स्थानीय सरोकारवालाले आइसिपीको सहज सञ्चालनका लागि आग्रह गरेका हुन्।
नेपाल-भारत एकीकृत जाँच चौकी सञ्चालनमा आएको लामो समय भए पनि सहज व्यवस्थापन नभएको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। छलफलमा उनीहरूले अन्तरदेशीय व्यापार सहजीकरणका लागि एकीकृत जाँच चौकी सहज सञ्चालनको माग गरेका थिए।
'उद्योग वाणिज्य संघका पदाधिकारीले आइसिपी पूर्णरूपमा सञ्चालनको विषय उठाउनु भएको थियो,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, 'दुई देशबीचको व्यापार सहजीकरणका लागि आइसिपी सहज सञ्चालन हुनुपर्छ भन्नेमा हामी पनि छौँ, आवश्यक निर्देशन दिइएको छ।'
राजस्व सचिव रामशरण पुडासैनी नेतृत्वको सरकारी टोलीले बारा र पर्साका भन्सार तथा सुरक्षा अधिकारीको छलफलमा स्थानीस्तरको राजस्व चुहावट नियन्त्रणका विषयमा छलफल गरेकाे थियो। बारा र पर्सामा १ सय ६७ किलोमिटर लामो खुला सीमा क्षेत्र पर्छ। त्यहाँबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रणका लागि काम गर्न सचिव पुडासैनीले निर्देशन दिएका छन्।
भन्सार विभागका अधिकारीहरूले वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयको जाँचपासको विस्तृत अनुगमन पनि गरेका थिए। त्यहाँको भन्सार जाँचपासको नमूना परीक्षण तथा कामको अवस्थाबारे पनि अध्ययन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।