न्युयोर्क–कोरोनाविरुद्धको खोप बोकेका ट्रकहरु मिसिगनको फाइजर प्लान्टबाट प्रस्थान गरेका छन्। खोपका डोज बोकेका ट्रकहरु सैन्य टोलीको स्कर्टिङमा अमेरिकाका विभिन्न ६ सय ३६ स्थानतर्फ प्रस्थान गरेका हुन्।
फाइजरले यसैसातामात्र युपीएस र फेडेक्स कुरिअर सर्भिसमार्फत् करिब ३० लाख खोपका डोज डेलिभर गर्नेछ। खोप छानिएका अस्पताल प्रणालीहरुमा सोमबारसम्म डेलिभर गरिने छ। अमेरिकामा स्थानीय समयअनुसार सोमबारदेखि खोप अभियान सुरु गरिँदैछ ।
फाइजरले मिसिगन, मिजोरी र म्यासाचुसेट्समा रहेका प्लान्टहरुमा खोपका डोज उत्पादन गरिरहेको छ। फाइजरको खोपलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार राति स्वीकृति दिएको हो।
फाइजरको कोरोना खोप अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो खोप हो। अमेरिकाले आगामी मार्चभित्र १० करोड नागरिकलाई खोप लगाउने योजना बनाएको छ। फाइजरको खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। यसको दुईवटा डोज दिनुपर्नेछ । पहिलो डोज दिएको २१ दिनको अन्तरमा अर्को डोज दिइनेछ । एउटा डोज दिएपछि खोपले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्ने बताइएको छ। तर दुवै डोज दिएपछि ९५ प्रतिशत प्रभावकारी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।