बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो। कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको उनले बताए।
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आज सोमबारदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि मंसिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो।
लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहनेछन्। साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन्। औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन् । डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।