काठमाडौं- आकर्षक काम र कमाईको प्रलोभनमा युवतीहरुलाई खाडी हुँदै अफ्रिका पुर्याएर बिक्री गर्न संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
महिलाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, खाडी (युएई, कतार) हुँदै अफ्रिका पुर्याउने काममा सक्रिय सिन्धुपाल्चोक जिल्ला साविक सिन्धुकोट गाविस-२ घर भई हाल काठमाडौं बस्ने अनिता तामाङ भन्ने अनिता सुनुवारलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।
सुनुवारलाई ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-७ चाबहिल कुमारीगालबाट पक्राउ गरेको हो।
सुनुवारले केही समय अगाडि ५ जनालाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी रुपमा भारत, खाडी तथा मोजाम्बिक हुँदै दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाउने काममा संलग्न रहेको उल्लेख गरिएको छ।
उनीहरुलाई अफ्रिकामा बिक्री गरिएको थियो। शारीरिक तथा मानसिक शोषणमा परी बन्धकसमेत भएर बसेका पीडितहरु भागेर दूतावास पुगी स्वदेश फर्किएका थिए। स्वदेश फर्किएर पिडितहरुले दिएको जाहेरीका आधारमा प्रहरीले निज सुनुवारलाई पक्राउ गरेको हो।
यसअघि सोही घटनामा संलग्न फरार प्रतिवादी ताप्लेजुङ मिरिङदेङ गाउँपालिका ४ स्थायी घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई मानव बेचबिखन ब्यूरोको टोलीले पक्राउ गरेको थियो। उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।