काठमाडौं- यो सिजन बार्सिलोनाले स्पेनिस ला लिगामा नै संघर्ष गर्नुपरिरहेको छ। च्याम्पियन्स लिगमा युभेन्टससँगको हारपछि गएको १३ वर्षमा पहिलोपटक समूह उपविजेता बनेको बार्सिलोनाको समय ला लिगामा त अझ खराब छ। लिगमा नवौँ स्थानमा रहेको बार्सिलोनाको १० खेलमा १४ अंक छ।
आइतबार राति बार्सिलोनाले लिगमा लेभान्टेविरुद्ध खेल्दैछ। लिगको शीर्षमा रहेको एथ्लेटिको मड्रिडसँग १२ अंकको भिन्नता रहेको बार्सिलोनाका लागि दबाब बढी रहेको छ। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले भने आफूलाई खेलाडीमाथि विश्वास नभए प्रशिक्षकका रुपमा नबस्ने बताएका छन्।
‘खेलाडीमाथि विश्वास नभए म काम गर्ने छैन। अहिले आरामको अवस्था नै महसुस गरिरहेको छु। पछिल्ला खेलहरुको अवस्थाले चिन्ता नलागेको भने होइन। हामी अझ राम्रो गर्ने प्रयासमा नै छौँ, अब केही समयमा राम्रो नतिजा देखिने विश्वास छ’ कोम्यानले भनेका छन्।
बार्सिलोनामा अहिले परिवर्तनको समय चलिरहेको भए पनि बार्सिलोनाको पछिल्लो इतिहासमा रोनाल्ड कोम्यान नतिजाका हिसाबले खराब प्रशिक्षक देखिएका छन्। २००३-०४ मा फ्रान्क रिजकार्ड प्रशिक्षक रहँदा बार्सिलोनाले पहिलो १६ खेलमा ८ खेल मात्र जितेको थियो। ५ बराबरी र ३ हार भएको थियो। अहिले कोम्यानले १६ खेलमा ९ खेल जितेका छन्। २ बराबरी र ५ हार भएको छ।

रिजकार्डबाहेक लुइस इनरिक, टिटो भिलानोभा, टाटा मार्टिनो, पेप गार्डिओला, एनेस्टो भालभर्दे जस्ता प्रशिक्षकको सुरुका १६ खेलको अवस्था तुलना गर्दा कोम्यान अझ कमजोर देखिन्छन्। सुरुवातको १६ खेलमा इनरिक र सेटियनले तीन खेल हारेका थिए भने गार्डिओला, भालभर्दे, भिलानोभाले दुई खेल हारेका थिए। जहाँ मार्टिनो अपराजित थिए।
यो सिजन लिगमा अलाभेससँग १-१ को बराबरी हुँदा बार्सिलोना टिममा गोलकिपर नेटो र डिफेन्डर जेरार्ड पिकेबीच तालमेल बिग्रिएको थियो। जसले नेटोले गरेको पास सिधा विपक्षी फरवार्डलाई गयो र बार्सिलोनाले गोल खान पुग्यो। गेटाफेविरुद्ध १-० ले हार्दा फ्रान्की डि योङको अनावश्यक फोउल पेनाल्टीको कारण बनेको थियो।
लिगमा एथ्लेटिको मड्रिडसँगको १-० को हारमा पनि अनावश्यक गल्तीमा जेरार्ड पिके सामेल भएका थिए। जहाँ गोलकिपर जेरार्ड पिके बलका लागि मैदानको आधा भागसम्म बढिदिँदा एथ्लेटिकोमा कारास्कोले सुझबुझपूर्ण खेल देखाउँदै लामो प्रहारमा गोल गरे। पछिल्लो पटक लिगमा काडिजसँगको २-१ को हारमा दुबै गोल बार्सिलोनाको सानो गल्तीको परिणाम नै थियो।

खेलमा यस्ता अवस्थाहरु आउँछन् नै तर बार्सिलोनाका लागि ती हरेक साना गल्ती जित हारको कारण बनिरहेको छ। यसैले आइतबार राति लेभान्टेसँगको खेलमा बलमा नियन्त्रण र प्रहारसँगै साना गल्तीका कारण हुनसक्ने हानीलाई पनि बार्सिलोनाले विचार गर्नुपर्नेछ। जहाँ केन्द्रमा हुनेछन् कप्तान लियोनल मेस्सी नै।
लेभान्टेविरुद्ध मेस्सीले १९ ला लिगा खेलमा २१ गोल, १६ असिस्ट गरेका छन्। जसमा १६ खेल जितेका मेस्सीले दुई खेल बराबरी गरेका छन् भने एक खेल हारेका छन्। यो सिजन सधैँ जस्तै मैदानमा हेर्नलायक देखिए पनि मेस्सी गोलमा बढ्न भने पहिले जस्तो सहज देखिएका छैनन्।
अहिले नै कमजोर देखिएको बार्सिलोनाका लागि उपाधि यात्रामा आश बनाइराख्न समेत लेभान्टेविरुद्धको खेल जित्नुपर्ने हुन्छ। यसैले प्रशिक्षक कोम्यानले आफूले टिमको उत्कृष्ट ११ लाई मैदान उतार्ने बताएका छन्। अन्सु फाती र उसमान डेम्बेले नहुँदा विंगमा समस्या भोगिरहेका कोम्यानको टिममा सर्जि रोबर्टो र जेरार्ड पिके पनि चोटका कारण हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।