काठमाडौं- इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा इभर्टनले चेल्सीलाई १-० ले हराएको छ। जसले चेल्सीको १७ खेलको अपराजित यात्रा गुडिसन पार्कमा टुंगियो। जहाँ जितको जस पाए दुई हजार समर्थकले।
खेलको २२औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दे सिगुडसनले इभर्टनलाई अग्रता दिलाएका थिए। जुन जितका लागि पर्याप्त भयो। भलै चेल्सीले ७२ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पोस्टको दिशामा १० प्रहार गरेको होस्। चेल्सीको जित लिगको शीर्षमा चढ्ने अवसर हुने थियो तर इभर्टनले नियन्त्रण बनाइरहन सक्यो।
लिगमा सुरुवातका केही खेलमा उत्कृष्ट देखिएको इभर्टन पछिल्ला खेलहरुमा राम्ररी बढ्न सकिरहेको थिएन। चेल्सीमाथिको जितले इभर्टनमा पुरानो विश्वास फर्काउने आश बढेको छ। त्यसमा विशेष त दर्शकको प्रभाव राम्रो रहेको इभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन्।
‘समर्थकका कारण धेरै कुरामा भिन्नता देखियो। खेलको माहोल नै असाध्यै भिन्न थियो। हुन त हामीले आफ्नो मैदानमा जम्मा दुई हजार जना समर्थक पाएका हौँ तर त्यसले मलाई निकै खुसी दियो। आश छ अब छिटै रंगशाला भरिने गरेर दर्शक आउन पाउनेछन्’ प्रशिक्षक एन्सेलोटीले भने।

पछिल्लो पटक इभर्टन समर्थकले आफ्नो मैदानमा हेरेको खेल पनि चेल्सीविरुद्ध नै थियो। गएको मार्चमा भएको दर्शकसहितको प्रिमियर लिग खेलमा इभर्टन ४–० ले पराजित भएको थियो। त्यसपछिको समय कोरोना माहामारीका कारण दर्शकले मैदान पुग्ने अवसर पाएनन्। अहिले सानो संख्यामा दर्शकलाई अनुमति दिने अभ्यास प्रिमियर लिगमा सुरु भएको छ।
लिगमा पाँच खेल सकिँदासम्म शीर्ष स्थानमा रहेको इभर्टन पछिल्लो समय कमजोर बनिरहेको थियो। चेल्सीविरुद्धको जितले अब हुने लेस्टरसँगको खेलमा पनि आत्मविश्वास बढ्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।