काठमाडौं- स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई रियल मड्रिडले हराएसँगै उपाधि यात्रा रोचक बन्ने देखिएको छ। अहिले एक खेल कम हुँदा नै तीन अंकको अग्रतामा रहेको एथ्लेटिकोलाई हराएसँगै रियल मड्रिडसहित अरु क्लबलाई समेत उपाधि दौडमा फाइदा पुगेको छ।
खेलको १५औँ मिनेटमा क्यासेमिरोले कर्नर बलमा हेडमार्फत गोल गरेसँगै रियल मड्रिडले अग्रता बनाएको थियो। खेलको ६३ औँ मिनेटमा ड्यानी कार्भाजलले हानेको प्रहार पोस्टमा लागि एथ्लेटिकोका गोलकिपर ओबलाकलाई ठोक्किएर आत्मघाती गोल हुन पुग्यो।
अहिले शीर्षमा रहेको एथ्लेटिको मड्रिडको ११ खेलमा २६ अंक रहेको छ। दोस्रोमा रियल सोसिडाडको १२ खेलमा २५ अंक र तेस्रोमा रहेको रियल मड्रिडको १२ खेलमा २३ अंक रहेको छ। उपाधि दाबेदारका रुपमा हेरिने बार्सिलोनाको भने १० खेलमा १४ अंक रहेको छ।
पछिल्लो समय केही खेलमा नतिजा बिग्रँदा रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानमाथि उठेका प्रश्नको जवाफसमेत उनले खेलबाटै दिन सकेका छन्। च्याम्पियन्स लिगमा मोन्चेनग्लादबाखलाई हराएर समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेसँगै अहिले एथ्लेटिको मड्रिडमाथिको जितले पनि टिममा आत्मविश्वास बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।