बाग्लुङ–बाग्लुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ। औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरे।
‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ ।
गत आवमा संघ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउनेदेखि पूर्वाधार तयारीका काम अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।
‘पर्खाल, घेराबार र प्रवेशद्वार निर्माणको काम सुरु भएको छ, अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य छ’, उनले भने। प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।
गाउँपालिका आफैँले रु ३० लाख बजेट छुट्ट्याएको छ । यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने जनाइएको छ । दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले जनाए।
स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु¥याउने विश्वास लिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।