भक्तपुर- भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाइवा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्वा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका २१ वर्षीय जीवन तामाङ छन्।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथलीमा जाँच गर्दा चोरी भएको बा. ८३ प ७७७३ नम्बरको मोटरसाइकल सहित सोनाम र फुर्बालाई बिहीबार राति तथा प्र.३-०२-००८ प ७५८५ र प्र.३-०२-०१४ प ०५९४ नम्बरका मोटरसाइकलसहित सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकबाट अन्य २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी कसुरमा ५ दिन म्याद लिई थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।