काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका ‘बले’ भनिने बलराम सापकोटा आफ्नो गाडी फिर्ता माग गर्दै विशेष अदालत पुगेका छन्। विशेष अदालतमा उनले आफ्नो सवारी साधन फुकुवा र फिर्ताका लागि पुगेको तर अदालतले तत्काल फिर्ता हुने आदेश जारी गर्न भने अस्वीकार गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागले असोज १९ गते सापकोटा र उनकी श्रीमतिविरुद्ध झन्डै २० करोड बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। सापकोटा र उनकी श्रीमतीको नाममा भेटिएको सम्पत्तिको स्रोत नखुलेकाले जफत हुनुपर्ने जिकिर विभागको थियो। विभागले सापकोटा र उनकी श्रीमतीको नाममा भेटिएको झन्डै १ अर्ब बराबरको स्रोत नखुल्ने सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको थियो।
सापकोटाको काठमाडौं, झापा तथा काभ्रेका विभिन्न ठाउँमा घरजग्गा तथा गाडी फेला पारेको आरोपपत्रमा दाबी छ। झापामा मात्रै उनको १३ बिघा जग्गा फेला पारेको विभागको दाबी छ।
काभ्रेमा ५ रोपनी जग्गा तथा काठमाडौंका विभिन्न हाउजिङ र कोलोनीमा घर भेटिएको थियो। त्यस्तै, उनीसँग निजी सवारी साधन पनि रहेको र उक्त सम्पत्ति जफत हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ। उनले यी सम्पत्ति गैरकानुनी गतिविधिवाट गतिविधिवाट आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ।
बले र उनकी श्रीमती सिर्जनाको नाममा भेगास सिटी, एम्पिल फ्लाइट र पञ्चकन्या उद्योगमा पनि लगानी रहेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो। अवैधरूपमा कमाएको सम्पत्तिलाई ती दम्पतीको नाममा राखिएको अभियोगपत्रमा उल्लेख छ।
बलेविरुद्ध विभागले १७ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ भने सिर्जनाविरुद्ध साढे २ करोडको बिगो दाबी विभागले गरेको थियो।
विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ। विभाग सो कार्यालयअन्तर्गत आएपछि यो सबैभन्दा बढी बिगो भएको यो पहिलो मुद्दा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।