काठमाडौं- विश्वकप छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरुको तालिका सार्वजनिक भएको छ। एएफसीले शुक्रबार कोरोनाको कारण रोकिएको विश्वकप छनोटको दोस्रो चरणको बाँकी रहेको खेल तालिका सार्वजनिक गरेको हो।
गएको मार्च र अप्रिलमा संयुक्तरुपमा विश्वकप र एसियन कप छनोटको खेलहरु हुने तालिका थियो। तर विश्वभर कोरोना भाइरस फैलिएसँगै अनिश्चितकालको लागि बाँकी रहेको खेलहरु स्थगित भएको थियो। त्यसपछि २०२० कै अक्टोबर र नोभेम्बरमा आयोजना गर्ने तालिका फिफा र एएफसीले निकालेको थियो। तर कोरोना भाइरसको संक्रमण कम नभएको भन्दै फेरि खेल स्थगित गरेको थियो।
नेपालले अझै विश्वकप छनोटको दोस्रो चरणमा घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ। एएफसीले निकालेको तालिका अनुसार अब नेपालले चैत १२ मा चाइनिज ताइपेईसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, चैत १७ गते नेपालले अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमै प्रतिस्पर्धा गर्नेछ। विश्वकपअन्तर्गत दोस्रो चरण र एसियन कप छनोटको अन्तिम खेलमा नेपालले जेठ २४ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप छनोटमा समूह बी मा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक–एक साथै कुवेतसँग दुई खेल हारेको छ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा समूह बनाउनुअघिको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४ औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
विश्वकप छनोटलाई नै मध्यनजर गर्दै नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक खेलमा नेपालले हारेको थियो भने एक खेलमा बराबरी खेलेको थियो। विश्वकपको लागि यसअघि नै एन्फाले ५८ जना खेलाडीलाई प्रारम्भिक चरणमा अभ्यासको लागि बोलाएको थियो। जसमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण दुई खेल खेल्नुअघिका ३४ खेलाडी र थप २४ जना नयाँ खेलाडी थिए।
विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटलाई मुख्य प्राथमिकतामा राखेर बन्द प्रशिक्षणमा बोलाउँदा कप्तान विराज महर्जनले पुनरागमन गरेका थिए। विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणमा कुवेत र चाइनिज ताइपेइसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गर्दादेखि विराज टिमबाहिर परेका थिए। त्यस्तै, विमल घर्तिमगर, सन्तोष तामाङ, आदित्य चौधरी र दिनेश राजवंशीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको थियो।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण शनिबारबाट सुरु हुँदैछ।
प्रारम्भिक नेपाली फुटबल टिम
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की, देव लिम्बु
डिफेन्डरः देवेन्द्र तामाङ, रन्जित धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान,
मिडफिल्डरः रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुबास गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङ्दम्बे, सन्जोक राई, नितिन थापा
फरवार्डः अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, विमल घर्तिमगर, राजिव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।