मोरङ- बलत्कारको घटना ५ लाख रुपैयाँमा मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई पैसा दिएर मिलापत्र गराएको पाइएपछि प्रहरीले मिलाउनेहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५३ वर्षीय मथालु खवास छन्।
२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी बलत्कार गरेको आरोप लागेको छ।
बलत्कारपछि फरार रहेका अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरेको थियो। थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आए पश्चात उनीहरुलाई मिलापत्र कागज सहित आ–आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ गरेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।