काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गरेको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यसमितिको बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गरेर समान १८ हजार पुर्याइएको हो।
यसअघि पुरुषको १५ र महिलाको ७ हजार मासिक तलब थियो। त्यस्तै, एन्फाले फिफा रेफ्रिहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार पुर्याएको छ।
त्यस्तै, एन्फाले रोकिएको शहिद स्मारक ‘बी’ डिभिजन लिगका बाँकी खेल, प्रदेश लिग, एन्फा प्रसिडेन्ट लिग, राष्ट्रिय महिला लिग, राष्ट्रिय लिग लगायतका प्रतियोगिताहरु आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग स्वीकृति लिने निर्णय गरेको छ।
माघ ६ गते साधारण सभा गर्ने निर्णय गरेको एन्फाले एन्फाको कृत्रिम घाँसे मैदान ट्रेनिङ फ्लडलाइट जडान गर्ने निर्ण गरेको छ। त्यस्तै, कास्कीमा बहुउद्देश्य फुटबल टेक्निकल सेन्टर निर्माण गर्नका लागि टेन्डर आह्वन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, एन्फा क्लब लाइसेन्सिङका मापदण्ड पारित पनि गरेको छ।
कार्यसमितिको बैठकले उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट प्रतियोगिताको संयोजकत्व बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।