काठमाडौं–काठमाडौँ महानगरपालिकाले ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। महानगरले झण्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गर्दै आएको छ। हालसम्म करिब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ।
यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग छलफल गर्न थालेको महानगरले जनाएको छ। हाल यसरी संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ।
कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ। कामपाले हरेक दिन सात ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ। महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो।
२०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ। सोही मार्गअनुरुप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ ।
सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो। महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा छ । उक्त यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ ।
दैनिक १० किलोमिटरसम्मको धुलो संंकलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन्। यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।