काठमाडौं- सरकारले विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्दै प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई विभागमा पदस्थापन गर्ने निर्णय गरेको हो।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले पोखरेललाई नायव प्रहरी महानिरीक्षक (डिआइजी)बाट एआइजीमा बढुवा गर्ने निर्णय समेत गरेको थियो। पोखरेलले एआइजीको फुली लगाएसँगै उनले विभागमा कार्यभार सम्हाल्ने भएका छन्। पोखरेल महानगरीय प्रहरी (मेट्रो) रानीपोखरीमा थिए।
पोखरेल विभागमा पदस्थापन भएपछि रिक्त हुन आउने महानगरीय प्रहरी रानीपोखरीको नेतृत्व भने हरि पाललाई दिनेसमेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। पाल यसअघि कार्य तथा अनुसन्धान विभागको नेतृत्वमा थिए।
मंसिर १० मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गर्दै प्रहरीमा एक एआइजीको दरबन्दी सिर्जना गरेको थियो।एक दरबन्दी थपसँगै एआइजीको संख्या ५ पुगेको छ। ओएन्डएममार्फत थप भएको एआइजी दरबन्दीमा पोखरेल बढुवा भएका हुन्।
एआइजीमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षक (आइजी)का लागि एकल दाबेदार मानिएका छन्। हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।