काठमाडौं- गत वर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ।
सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीवी पोखरेलले बन्द भएको झन्डै ९ महिनापछि चिडियाखानालाई खुल्ला गरिएको बताए। चिडियाखाना दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ।
एकपटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताए। चिडियाखाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टासम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ। घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताए।
'चिडियाखानाभित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियमसमेत बनाइएको छ,' उनले भने।
चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखाना भित्र घुम्न पाउँदा खुशी लागेको बताएका छन्। पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए।
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी को निर्णय पछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो।
चिडियाखना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ। काउन्टरबाट टिकट खरिद गर्दा समेत अनलाइन टिकट प्राप्त हुने छ। चिडियाखानामा अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।