काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको नेतृत्वमा रहेको समूहकाे बैठक बोलाइएको छ। पार्टीको तेश्रो धारका रुपमा परिचित समूहको बैठक बिहान ११ बजेका लागि बोलाइएको सिटौलानिकट स्रोतले जानकारी दिएको छ।
बैठक सिटाैला निवास चण्डाैलमा बस्ने बताइएकाे छ। सिटौलाले आफूपक्षीय केन्द्रीय नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बैठकका लागि बोलाएका छन्।
सिटौलाले बोलाएको बैठकमा उनी पक्षीय नेताहरु गगन थापा,प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाईं सहभागी हुने बताइएको छ। साथै तारामान गुरुङ पनि सिटौला पक्षको भेलामा सहभागी हुने भएका छन्। गुरुङ पूर्व स्वास्थ्य राज्यमन्त्री हुन्।
भ्रातृ संस्थाबाट नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले, महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेय, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंलगायत सहभागी हुने बताइएको छ।
१४ औं महाधिवेशनकेन्द्रित रहेर आफ्नो समूहकाे रणनीति तय गर्न बैठक बोलाएको बताइएको छ। सिटौला पक्षले आफ्नो समूहलाई वैचारिक धारका रुपमा परिभाषित गर्दै आएको छ। सिटौलाले महाधिवेशनलाई ध्यानमा राखेर महाराजगन्जमा सम्पर्क कार्यालय पनि खोलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।