काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे ठेक्का प्रकियामा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर २ को बैरिया प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार उक्त टेण्डरको सूचना राष्ट्रिय वा स्थानीय पत्रिकामा सार्वजनिक गर्नुपर्नेमा आरोपीहरूले मिलेमतो गरी सूचना लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
पत्रिकामा सूचना नै नछापी छापेको भन्दै नक्कली बिल भरपाई बनाएर ६५ हजार रुपैयाँ भुक्तानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।
आरोपी तीनैजनाविरूद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो मागदाबी गरिएको छ ।
प्रशासकीय अधिकृत मुस्तफा र सहलेखापाल साहलाई मुख्य कसुरदार र सम्पादक साहलाई मतियारको रूपमा कारबाहीको माग गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।