काठमाडौं–इटालियन क्लब एटलान्टाले डच टिम आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। एटलान्टाले समूह ‘डी’ को अन्तिम खेलमा आयाक्सलाई १–० गोलले पराजित गरेको हो।
आयाक्सलाई पराजित गर्दा एक मात्र गोल लुइस फेर्नान्डोले गरे। ७९ औं मिनेटमा रियान गाभनबेर्चले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आयाक्स १० खेलाडीमा झरेको थियो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एटलान्टाले खेलको ८५ औं मिनेटमा भने गोल गर्न सफल भयो। लुइस फेर्नान्डोले गोल गर्दै एटलान्टालाई १–० गोलको जित दिलाए।
यसै समूहमा भएको अर्को खेलमा भने लिभरपुलले मिड्जेल्यान्डसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको पहिलो मिनेटमा नै मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर खेलको ६२ औं मिनेटमा मिड्जेल्यान्डका एलेक्जेन्डर स्कोल्जले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए।
लिभरपुलले मिड्जेल्यान्डसँग बराबरी खेलेपनि समूह विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको समूह चरणमा ६ खेलबाट १३ अंक बनाएको हो। एटलान्टाले ६ खेलबाट ११ अंक बनायो। आयाक्सको भने ६ खेलबाट ७ अंक हुँदा पुछारमा रहेको मिड्जेल्यान्डले ६ खेलबाट २ अंक बनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।