काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा मार्सेलीलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा सिटीले मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
दुई खेलअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘सी’ को विजेता बन्ने क्रममा मार्सेलीलाई सहजरुपमा पराजित गरेको हो। सिटीको जितमा फेरान टोरेस र सर्जियो अगुइरोले गोल गरे। मार्सिलीले आत्मघाती गोल गरेपछि एक गोल भने उपाहार स्वरुप सिटीले पाएको थियो।
खेलको ४८ औं मिनेटमा गोल गर्दै टोरेसले सिटीलाई अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दा सिटीको अग्रता २–० मा पुग्यो। अल्भारो गोन्जालेजले खेलको ९० औं मिनेटमा आफ्नै पोष्टमा गोल गर्न पुग्दा मार्सेलीले आत्मघाति गोल खायो। आत्मघाति गोलसँगै सिटीले मार्सेलीलाई ३–० गोलले हराएको हो।
यसै समूहको अर्को खेलमा पोर्टोले ओलम्पियाकोसलाई २–० गोलले पराजित गरेको छ। पोर्टो पनि यसअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको टिम हो। ६ खेलबाट १६ अंक बनाएको म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो। उपविजेता बनेको पोर्टोको ६ खेलबाट १३ अंक छ। त्यस्तै, ओलम्पियाकोस र मार्सेलीको समान ३–३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।