काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा मोन्चेनग्लादबाखलाई २–० गोलले पराजित गर्दै रियल समूह ‘बी’ को विजेता बनेको हो।
घरेलु टिम रियलको जितमा करिम बेन्जिमाले दुवै गोल गरे। खेलको नवौं मिनेटमा नै गोल गर्दै बेन्जिमाले रियललाई १–० गोलको अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा अर्को गोल गर्दै बेन्जिमाले पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। पहिलो हाफमै २ गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै खेल जितेको हो।
यो खेल रियलका लागि एकदमै महत्वपूर्ण थियो। यदी रियल हारेको भए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने थियो। तर मोन्चेनग्लादबाखलाई पराजित गरेसँगै रियल शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। अर्को खेलमा भने इन्टर मिलान र शाख्तरले गोलरहित बराबरी खेलेका छन्।
जितसँगै शीर्ष स्थानमा रहेको रियलको ६ खेलबाट १० अंक भएको छ। पराजित भएपनि मोन्चेनग्लाबाख उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। ६ खेलबाट ८ अंक बनाएको मोन्चेनग्लादबाखले शाख्तरलाई पछि पार्दै नकआउटमा पुगेको हो। इन्टर मिलानलाई पराजित गरेको भए शाख्तर अन्तिम १६ मा पुग्ने थियो। शाख्तरको पनि ६ खेलबाट ८ अंक नै छ। इन्टर मिलानले भने ६ खेलबाट ६ अंक बनाएर लिग सकायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।