काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक समूह ‘ए’ को विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। दुई खेलअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणको आफ्नो अन्तिम खेलमा मस्कोलाई २–० ले पराजित गर्दै समूह विजेता बनेको हो।
आफ्नो घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि निक्लस सुले र इरिक म्याक्सिम मोटिङले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो। खेलको ६३ औं मिनेटमा सुलेले गोल गरे। ८० औं मिनेटमा इरिक म्याक्सिम मोटिङ गोल गरेपछि बायर्नले मस्कोलाई २–० गोलले पराजित गरेको हो।
यसै समूहमा भएको अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न सफल भएको छ। एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई २–० गोलअन्तरले पराजित गर्दै नकआट चरणमा पुगेको हो। एथ्लेटिको मड्रिडको जितमा मारिनो हेर्मोसो र यानिक कारास्कोले गोल गरे। खेलको ३९ औं मिनेटमा मारिनोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ८६ औं मिनेटमा कारास्कोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–० गोलको जित दिलाए।
जितसँगै बायर्नले खेलको ६ खेलमध्ये पाँचमा जित र एक खेलमा बराबरी खेल्दै १६ अंक बनायो। एथ्लेटिकोले भने ६ खेलबाट ९ अंक बनाएर च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।