काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मित्रराष्ट्र चीनमा सुरु भएको ५औं लियनयुंगाङ फोरममा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वारा बुधबार सम्बोधन गरेका छन्।
उक्त फोरममा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे। यस्तो फोरमको आयोजना र छलफलबाट विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुने धारणा समेत उनले व्यक्त गरे।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न यो फोरमको आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सवल साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको उनले बताए।
बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरुले भिडियो कन्फेरेन्समार्फत सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।