काठमाडौं- २०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई बिदाइ गरे। टोलीलाई प्रधानमन्त्री ओलीको बिदाइले टोली उत्प्रेरित भएको थियो। नापी विभागका उपसचिव खिमलाल गौतम र रविन कार्कीसहित चार जना सदस्य थिए। सगरमाथाको उचाइ नाप्न जाँदा थुप्रै कठिनाइ उनीहरूले भोगे।
बिदाइका क्रममा प्रधानमन्त्री ओलीले दिएको उत्प्रेरणासँगै राष्ट्रिय दायित्व गौतम र कार्कीले दुवैले स्मरण गरे। साहस बटुले। आफ्ना चरम कठिनाई बिर्सिए र कठिनाइको यात्रातिर अझै अघि बढे। सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको तल्लो बेस क्याम्पमा रहेर सगरमाथाको चुचुरोमा पुग्नेलाई साथ दिए।
नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङजाङ्बु शेर्पा सरकारी टोलीसँगै आरोहरणमा संलग्न रहे। आरोहण गर्ने चुनौती त थियो नै, मापन गर्नु अर्को 'महाचुनौती' थियो। अर्को तर्फ मापनका लगिएका साधनहरुको प्रयोग गर्नुका साथै बचाउनुपर्ने चुनौती पनि थियो। चार्ज र परीक्षण गरिरहनुपर्ने समस्या पनि थियो। ‘रिर्फेसमेन्ट स्टेसन’ तय गर्नु सजिलो काम थिएन।
चार सदस्यीय सरकारी टोलीमा रहेका कर्मचारीकै कठिन कार्यले नापेको सगरमाथाको उचाइ मंगलबार सार्वजनिक भएको छ। नापी विभागमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ४ कर्मचारीको मुक्तकण्ठाले प्रशंसा गरे। चारै जनालाई सार्वजनिक सम्मान पनि गरियो।

तर थुप्रै कठिनाइ खेप्दै सगरमाथाको उचाइ मापन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेका टोलीलाई सरकारले पूर्वघोषणा गरेको १० लाख उपलब्ध गराएको छैन। मापन टोलीका प्रमुख गौतम सरकारी आश्वासनको कार्यान्वयन हुनेमा आश्वस्त छन्। उद्देश्य पूर्ति गरेकैप्रति उनी सर्वाधिक खुसी छन्। उनी भन्छन्, ‘उचाई मापन गर्नु नै मूल उद्देश्य थियो। सरकारले पनि हाम्रो उचित मूल्यांकन गर्ला। देशको काम गरेका हौं। हाम्रो व्यक्तिगत काम होइन।' सरकारले सगरमाथाको मापनका लागि १७ करोड छुट्याएको थियो।
२०७५ को चैत २७ आरोहण सुरु गरेको टोलीलाई मौसमले साथ नदिँदा अनेक हन्डर खाएको थियो। मौसमकै कारण क्याम्पमा तलमाथि गर्नुपरेको गौतमले सुनाए। ८ जेठ ०७६ को बिहान ३ बजे आसपास शिखरमा पुगेका थिए। सगरमाथाको चुचुरोमा पुग्न उनीहरूलाई काठमाडौँ छोडेको दिनबाट ४१ दिन लागेको थियो। योजनाअनुसार शिखरमा मौसमका कारण सम्भव नभएको गौतमले सुनाए।
शिखरमा पुगेर ओर्लन पाउने सुविधा उनीहरुलाई थिएन। सगरमाथाको मापन गर्नु थियो। त्यसका लागि उनीहरू १ घन्टा १६ मिनेट शिखरमा रहे। कति समय चुचुरोमा रहेको जिपिएसले खुलाउने भएकाले नपुगी फर्केने छुट टोलीलाई झनै थिएन। चुनौतीको पर्खाल पार गर्न नसक्ने कि मर्ने कि असफल भएर फर्केने भन्दा अन्य विकल्प नरहेको गौतमले सुनाए।
निजामती कर्मचारीको टोलीबाट गौतम सन् २०११ मा पनि सगरमाथा चढेका थिए। टोलीका अर्का सदस्य कार्कीका लागि आरोहण नितान्त नयाँ थियो। अक्सिजनको कमीले गर्दा पटकपटक फर्केन सोच नपलाएको होइन। आरोहण गर्नुअघि प्रधानमन्त्रीले बिदाइमा दिएको मन्तव्य स्मरण गर्थे। तत्कालीन परिवेश सम्झदै कार्की भन्छन्, ‘अक्सिजनको अभावले बोल्न सकिने अवस्था हुँदैन। अब मरिने हो कि भन्ने पनि लाग्यो। जानुअघि प्रधानमन्त्रीको बिदाइ सम्झें। हिम्मत गरें।'

सगरमाथाको चुचुरोमा पुगेर फर्केलगत्तै उनीहरूमध्ये ३ जनालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। हिउँको अत्यधिक चिसोपना 'फ्रस्टबाइट' लगायतका समस्या भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो।
पूर्व मुख्यसचिव लिलामणि पौडेलले गौतम र कार्कीको जीवनलाई नयाँ जीवनको संज्ञा दिए। पौडेलकै अगुवाइमा सन् २०११ मा कर्मचारीको टोली सगरमाथा चढेको थियो। मापनको तथ्यका लागि वस्तुगत जानकारी हुनुपर्छ भन्ने मान्यताले नै मापनको पहल त्यसबेलादेखि गरिएको उनले सुनाए। ‘ओलम्पिक टर्च सगरमाथा पुर्याउन खोज्दा हाम्रो त केही क्षमता नै नभएको देखियो,’ पूर्वमुख्यसचिव पौडेलले भने, ‘वस्तुगत जानकारी हामीमा पनि हुनुपर्छ भनेर नै सगरमाथा चढ्न पहल भएको थियो।’ त्यसबेलाको जगमै अहिले उपलब्धि हात पारेको पौडेलको बुझाइ छ।
मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रूपमा सगरमाथा (चोमोलोङ्मा)को नयाँ उचाइ ८, ८४८.८६ मिटर घोषणा गरेका थिए।
सगरमाथा मापनको इतिहास
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुनः इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए। तर, ती सबैले फरकफरक मापन निकालेका थिए।
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडौंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो। त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए। यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो।
२०७५ चैत २७ गते प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।