काठमाडौं- च्याम्पियन्स लिग समूह चरणमा मंगलबार राति पिएसजी र इस्तानबुल बासाकेशिरबीचको खेल १४ मिनेटपछि रोकियो। दुई घन्टासम्म अनिर्णयमा फसेको खेल अन्नतः रोकिएकै ठाउँबाट बुधबार गर्ने निर्णय युइएफएले गर्यो। आखिर किन रोकिएको थियो त खेल?
खेल चलिरहँदा पिएसजीका किमपेम्बे र बासाकेशिरका फेडेरिकबीच भएको फोउलपछि खेल रोकिएको थियो। फोउलपछि त्यसबारे बासाकेसिरका सहयाक प्रशिक्षक पिएरे वेबोले विरोधको स्वर निकालेका थिए। जतिबेला फोर्थ अफिसियल सेबास्टियन कोल्तेस्कुले मुख्य रेफ्री अभिदु एलिनलाई पिएरेको विरोधको क्रियाकलाप बताउन ‘त्यो बोल्ने काले केटो’ भन्ने शैलीमा जानकारी गराएका थिए।
पिएरेले रेफ्रीले प्रयोग गरेको ‘ब्याल्क’ भन्ने शब्द सुनेकाले विभेद भएको भन्दै आवाज उठेको थियो। फोर्थ अफिसियलले रोमानियन शब्दमा नेग्रो भन्ने अर्थ लाग्ने शब्द बोलेको पिएरेको भनाइ छ। त्यसैले उनले किन नेग्रो भनेको? भनेर प्रश्न उठाएका थिए।

त्यसैमा भएको विवादपछि बासाकेशिरका खेलाडीले खेल नै बहिष्कार गरे। पिएसजीका खेलाडीहरुले भएको के हो भन्ने बुझेर बासाकेशिरलाई साथ दिएका थिए। विवादपछि युइएफएले फोर्थ अफिसियलको स्थानमा भिएआरका रेफ्रीलाई ल्याएर उनलाई भिएआरमा पठाएर खेल गराउने प्रयास पनि गरेको थियो। तर पनि बासाकेशिर टिम मानेन। जसले बुधबार अफिसियल टिम परिवर्तन गरेर रोकिएकै समयबाट खेल सुरु गर्ने निर्णयमा युइएफए पुग्यो।
घटनाको सम्बन्धमा छानबीन गरेर रंगभेदी व्यवहार गर्ने रेफ्रीलाई कारबाहीको माग भइरहेको छ। युइएफएले सत्य तथ्य छानबीन हुने जनाएको छ। रंगभेदी घटनाका कारण खेल रोकिएपछि पिएसजीले पनि बासाकेशिरलाई साथ रहेको सामाजिक सञ्जालबाटै जनाएको थियो। पिएसजीका केही खेलाडीले पनि कुनै पनि प्रकारको रंगभेद स्वीकार नहुने बताइरहेका छन्।

विश्व फुटबलमा खेलाडीहरुबीच यस्तो किसिमको रंगभेदको व्यवहार यसअघिदेखि नै बहसमा रहने गरेको भए पनि रेफ्रीमार्फत भएको यस्तो व्यवहार नौलो हो।
मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लाइपजिगसँग पराजित भएसँगै पिएसजी अन्तिम १६ मा पुग्ने पक्का भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।