काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ का लागि अब ४ टिम बाँकी छन्। जसको टुंगो बुधबार राति हुने समूह चरणको अन्तिम खेलले लाग्नेछ। अहिलेसम्म बायर्न म्युनिक, बार्सिलोना, चेल्सी, बोरुसिया डोर्टमुन्ड, युभेन्टस, लाजियो, लिभरपुल, म्यानचेस्टर सिटी, पोर्टो, सेभिया, लाइपजिग र पिएसजी अन्तिम १६ मा पुगिसकेका छन्।
बुधबार राति ११ः४० मा तीन खेल हुँदैछन्। जसमा लिभरपुल र मिड्जेल्यान्ड, पिएसजी र बासाकेसिर साथै आयाक्स र एटलान्टा खेल्दैछन्। यस्तै १ः४५ मा बायर्न म्युनिक र मस्को, रियल मड्रिड र मोन्चेनग्लादबाख, साल्जबर्ग र एथ्लेटिको मड्रिड, म्यानचेस्टर सिटी र मार्सेली, इन्टर मिलान र शख्तर डोनेस्क साथै ओलम्पियाकोस र पोर्टो खेल्दैछन्।
समूह ए बाट बायर्न म्युनिक अन्तिम १६ मा पुगिसकेको छ। अब एथ्लेटिको मड्रिड र साल्जबर्गमध्ये एक टिम अघि बढ्नेछ। यसअघि एथ्लेटिको मड्रिड र साल्जबर्गको भेट हुँदा मड्रिड ३-२ ले विजयी भएको थियो।
सबैभन्दा रोचक अवस्था समूह बी मा देखिन्छ। जसमा चार टिमको नै अगाडि बढ्ने सम्भावना छ। अन्तिम खेलअघि मोन्चेनग्लादबाखको ८, शख्तर डोनेस्कको ७, रियल मड्रिडको ७ साथै इन्टर मिलानको ५ अंक रहेको छ। यसैले अन्तिम खेल सबै टिमका लागि विशेष महत्वको छ। रियल मड्रिड र मोन्चेनग्लादबाख साथै इन्टर मिलान र शख्तर डोनेस्क सबै आफ्नो जितको भरमा हुनेछन्।
समूह डी बाट लिभरपुल अन्तिम १६ मा पुगिसकेको छ। यो समूहबाट बुधबार राति हुने खेलले एटलान्टा र आयाक्समध्ये एक टिम अघि बढ्नेछ। एटलान्टाले आयाक्ससँग बराबरी गर्दा मात्र पुग्ने देखिन्छ भने आयाक्सका लागि खेल जित्नै पर्ने हुन्छ। अहिले ५ खेल सकिँदाको अवस्थामा एटलान्टाको ८ र आयाक्सको ७ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।