काठमाडौं- विश्व भन्सार संगठनको सहकार्यमा भन्सार विभागले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरूद्धको दिवस मनाएको छ। बुधबार एक सूचना जारी गर्दै विभागले भ्रष्ट्राचारविरूद्धको अन्तर्राष्ट्रिय पहललाई आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय समुदायमा आफ्नो सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यसका साथै विभागले विश्वासको वातावरण सिर्जना गर्ने तथा भन्सार प्रशासनलाई उत्तरदायी पारदर्शी र सदाचारयुक्त बनाउँदै लैजाने दिशामा संस्थागत पहलहरू अघि बढाएको उल्लेख गरेको छ। यसले सेवामा प्रभावकारिता, व्यापारमा सहजीकरण र व्यवसायमा लाग्ने लागत र समय न्यूनीकरण हुनुका साथै सदाचारिता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास विभागले लिएको छ।
दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो। त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।