काठमाडौं–विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ। फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र एपीएफबीच ६ वर्षको ऐतिहासिक सम्झौता भएको छ।
मंगलबार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार एपीएफले युवा खेलाडी विकासका लागि ‘नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी’ स्थापना गरी सञ्चालनमा ल्याउने छ। आउँदो शैक्षिक सत्रबाट सुरु हुने एकेडेमीमा १३–१४ वर्षका खेलाडीलाई भर्ना गरिनेछ।
एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टिमले देशभरबाट २१ खेलाडी छनोट गर्नेछ। जसमा एन्फा र एपीएफले समान ७–७ खेलाडी प्रायोजनमा राख्ने छन्। जसमा कक्षा १२ सम्मको शिक्षा र अन्य खर्च दूवैले ब्यहोर्नु पर्नेछ।
‘फुटबल एकेडेमीका लागि एपीएफसँग सहकार्य गर्न पाउँदा खुसी रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन्। उनले भने, ‘एपीएफसँग सम्झौता गर्न पाउँदा निकै गर्व महसुस भइरहेको छ। यो खेलाडी तथा प्रशिक्षकको विकासका लागि ऐतिहासिक सम्झौता हो।’
त्यस्तै, सशस्त्र प्रहरी बलका आइजी शैलेन्द्र खनालले राम्रा खेलाडी उत्पादन गर्न एन्फासँग सहकार्य गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।