काठमाडौं–सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्याई डाटा सार्वजनिक गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई मंगलबार साइबर ब्यूरोले पक्राउ गरेको हो।
साइबर हमला गर्नेमाथि ब्यूरोले चलाएको ‘अपरेशन ह्याकर हन्ट’ अन्तर्गत उनी पक्राउ परेका हुन् । यसअघि ब्यूरोले ह्याकर हन्ट अपरेशनमै तीनजनालाई पक्राउ गरिसकेको छ।
सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु हुने गरेको सूचना प्राप्त भएपछि ब्यूरोले अपरशेन ह्याकर हन्ट सुरु गरेको थियो।
ब्यूरोबाट खटिएको प्रहरीले सूचनाको विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा तिवारीले निजी क्षेत्रको अनलाइन व्यापारको डाटा ब्रिच गरी डाटा सार्वजनिक गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसूर गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।