काठमाडौं–भारतले बासमती धानको भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) को हक अधिकार स्थापित गर्न युरोपियन युनियन (ईयु) मा निवेदन पेश गरेपछि नेपालले त्यसमा आपत्ति जनाएको छ।
बासमती धानमा भारतले लिन खोजेको एकल स्वामित्वका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको र नेपाललेसमेत त्यसमा दाबी जनाउने कृषि तथा पशुपंक्षी मन्त्रालयले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएकाे छ।
`भारतले बासमती धानको भौगोलिक संकेतका लागि युरोपिएन युनियनमा निवेदन दिएको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवहरु र सरोकारवाला निकायका पदाधिकारीहरुको बैठकले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त बासमतीमा नेपालकोसमेत हक स्थापित हुनु पर्ने´ मन्त्रालयको भनाइ छ।
बासमती धानमा आफ्नो पनि अधिकार रहेको बारे युरोपियन युनियनमा निवेदन दिन नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र खुमलटारलाई निर्देशन दिने र तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ।
सोही निर्णय अनुसार नेपालको तर्फबाट राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्रले बासमती धानका लागि आफ्नोसमेत हकका लागि आधिकारीक दाबी पेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।