काठमाडौं– स्पेनिस क्लब सेभियाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। सेभियाले रेनेसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
रेनेसलाई पराजित गर्ने क्रममा सेभियाका युसेफ नेसिरीले दुई गोल गर्दा जुलेस कोउन्डेले एक गोल थपे। रेनेसका लागि जर्जिनियो रुटरले गोल गरे। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खान पुगेको थियो। त्यस्तै, समूह ‘इ’ कै अर्को खेलमा चेल्सी भने क्रस्नोडरसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
चेल्सी बराबरीमा रोकिएपनि समूह ‘इ’ को विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो। चेल्सीले ६ खेलबाट १४ अंक बनाएको छ। उपविजेता बन्दै नकआउट चरणमा पुगेको सेभियाको ६ खेलबाट १३ अंक छ। यी दुबै टिम दुई खेलअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको थियो।
त्यस्तै, च्याम्पियन्स लिगमा भएको अर्को खेलमा बोरुसिया डर्टमण्डले सेन्ट पिटर्सबर्गलाई २–१ गोलअन्तरले पराजित गर्दै विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। समूह ‘एफ’ बाट डर्टमण्ड विजेता बन्दा लाजियो उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।