काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लाइपजिग च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ। समूह ‘एच’ मा रहेको जर्मन क्लब लाइपजिगले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम लाइपजिगलाई जिताउन एन्जेलिनो, अमादउ हाइदरा र जस्टिन क्लुभर्टले गोल गरे। युनाइटेडका लागि भने ब्रुनो फर्नान्डेजले गोल गरे। एक गोल भने लाइपजिगले आत्मघाति गोल गर्दा युनाइटेडले उपहारस्वरुप पाएको थियो।
खेलको दोस्रो मिनेटमा नै एन्जेलिनोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा अमादउले गोल गर्दै पहिलो हाफसम्म लाइपजिगलाई २–० गोलको अग्रता दिलाए। जस्टिनले खेलको ६९ औं मिनेटमा गोल गर्दा म्यानचेस्टर युनाइटेडविरुद्ध लाइपजिगले ३–० गोलको अग्रता लियो।
८० औं मिनेटमा फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडले ३–१ गोलको स्थिति बनायो। ८२ औं मिनेटमा लाइपजिगका इब्राहिमा कोनाटेले आत्मघाति गोल गर्दा युनाइटेडले ३–२ गोलको स्थिति बनाएको थियो। तर बाँकी समयमा गोल गर्न नसक्दा युनाइटेड समूह चरणबाटै बाहिरिएको छ। लाइपजिगलाई पराजित गरेको भए युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने थियो।
६ खेलबाट लाइपजिगले १२ अंक बनाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो। पराजित युनाइटेडको ६ खेलबाट ९ अंक छ। एक खेल कम खेलेको पिएसजीको पनि ९ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।