काठमाडौं- साझा पार्टी र विवेकशील दलले पुन एकता गर्ने भएका छन्। एकताका लागि सम्पूर्ण तयारी पूरा भएको र बुधबार एकता घोषणा गर्ने तय भएको विवेकशील दलकी नेता रञ्जु दर्शनाले जानकारी दिएकी छन्। उनका अनुसार बुधबार दिउँसो साढे ३ बजे भर्चुअल कार्यक्रम गरी एकता घोषणा गर्न लागिएको हो।
दुई दलमा विभाजन भएको २३ महिनापछि साझा र विवेकशील पुनः एक हुन लागेका हुन्। २७ पुस ०७५ मा यी दुई दल विभाजन भएका थिए। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने गरी एकता गर्न लागिएको र केन्द्रीय समितिमा ६५-६५ जना रहने समेत दर्शनाले जानकारी दिइन्।
पार्टी पदाधिकारीसहित केन्द्रीय समिति बराबरी हुनेगरी एकता गर्ने अनौपचारिक समझदारी यसअघि नै बनेको थियो। दुवै पक्षले समानता, सहअस्तित्व र दुवै पक्षको जित हुने गरी एकता गर्न लागिएको उनको भनाइ छ।
पार्टीको चुनाव चिह्न तराजु, पार्टीको नाम विवेकशील साझा पार्टी बनाउनेसमेत सहमति भइसकेको छ। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने समझदारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।