काठमाडौं- आफूलाई बलात्कार गर्ने सिद्धबाबा भनिने कृष्णबहादुर गिरिले सफाई पाएपछि पीडित महिलाले अन्याय भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सचिवालयमा निवेदन दिएकी छन्।
अदालतले सिद्धबाबालाई सफाइ दिएपछि आफूलाई अन्याय भएको भन्दै उनले मंगलबार प्रधानन्यायाधीशको सचिवालयमा निवेदन दिएकी हुन्। प्रधानन्यायाधीश राणालाई भेट्ने भनी श्रीमानसहित सर्वोच्च पुगेकी उनले सचिवालयमा निवेदन दिएकी हुन्।
राणालाई सम्बोधन गर्दै उनले आफूमाथि भएको बलात्कारको घटना सविस्तार व्याख्या गरेकी छन्। सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई दोषी ठहर गर्न प्रमाण अपर्याप्त भएको भन्दै सफाई दिएको थियो। कोइरालाले सरकारी वकिलको उपस्थिति बिनै फैसला गरिदिएका थिए। उनको उक्त फैसलाले विवाद सिर्जना गरिरहेको समयमा पीडित पक्ष प्रधानन्यायाधीश सचिवालयमा गुनासो लिएर पुगेको हो।
पीडितले प्रधानन्यायाधीशसँग भेट गर्न चाहे पनि प्रधानन्यायाधीश राणाले उनलाई भेट भने दिएनन्। यसपछि पीडितले राणाको सचिवालयमा गुनासो सुनाएर फर्केकी थिइन्।
मंगलबार नै सोही मुद्दाका विषयमा महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश राणालाई भेटेका थिए। फैसलामा प्रक्रिया पूरा नभएकोप्रति उनले गुनासो गरेका थिए। पीडित महान्यायाधिवक्ता खरेललाई पनि भेट्न सरकारी वकिलको कार्यालयमा पुगेकी थिइन्।
महान्यायाधीवक्ता कार्यालयमा भेटिएकी पीडितले धर्मको आडमा आफूमाथि बलत्कार भएको र सुरुमा प्रभावका कारण सार्वजनिक गर्न नसकेको उनले बताइन्। आफूमाथि भएको घटनाका कारण लामो समय आफू मानसिक रुपमासमेत विक्षिप्त भएको उनले सुनाइन्। अब कुनै पनि अवस्थामा न्यायको लडाइबाट पछि नहट्ने उनको भनाइ थियो। उनले अब न्याय परिषदमा पनि न्यायाधीश विरुद्ध उजुरी दिने उनले बताइन्।
न्यायिक विचलन र प्रभावमा परेर न्याय गरेकोले जिकीर उनको थियो। उच्च र सर्वोच्चबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि थुनामा रहेका उनी अब रिहा हुने भएका छन्। सरकारी पक्षले जिल्लाको फैसला तयार भएपछि उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।