काठमाडौं- प्रशिक्षक डिएगो सिमोनले आफूहरु हरेक खेललाई विचार गर्दै अघि बढ्ने बताइरहँदा ला लिगामा एथ्लेटिको मड्रिडले आफ्नो विजेता बन्ने छबी देखाइसकेको छ। विगतमा एथ्लेटिको मड्रिडले लिग जित्दाको अवस्था हेर्ने हो भने पनि अहिलेको परिस्थितिसँग मिल्ने देखिन्छ।
ला लिगामा अहिले १२औँ चरणका खेलहरु चलिरहँदा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ। १० खेल खेलेको एथ्लेटिको मड्रिडको ८ जित र २ बराबरीसहित २६ अंक छ। जहाँ २१ गोल गरेको एथ्लेटिकोले २ गोल मात्र खाएको छ। दोस्रोमा रहेको रियल सोसिडाडको १२ खेलमा २५ अंक छ। लिगमा सधैँका अब्बल रियल मड्रिडको ११ खेलमा २० साथै बार्सिलोनाको १० खेलमा १४ अंक मात्र छ।
एथ्लेटिको मड्रिडले सिमोनकै प्रशिक्षणमा यसअघि २०१३–१४ को सिजन लिग उपाधि जितेको थियो। त्यसअघि १९९५–९६ को सिजन लिगको उपाधि जितेको एथ्लेटिको मड्रिडको त्यसबेलाको अवस्था ठीक अहिलेको जस्तै थियो। जतिबेला सुरुवातका १० खेल सकिँदा ८ जित र २ बराबरी नै थियो।
२०१३–१४ को सिजन भने सुरुका १० खेल सकिँदा एथ्लेटिको मड्रिडको २७ अंक थियो। जुन अहिलको अवस्थामा भन्दा एक अंक बढी हो। तर इतिहास नै तुलना गरेर हेर्दा यो सिजन पनि एथ्लेटिको मड्रिडलाई लिग उपाधिका लागि सहज भने हुने छैन। एथ्लेटिको मड्रिडले यसअघिको दुई उपाधि जित्दा लिगको विजेता अन्तिम खेलबाट निर्णय भएको थियो।
लिगमा अब आइतबार एथ्लेटिको मड्रिड र रियल मड्रिडबीच खेल हुँदैछ। जसले लिगमा धेरै प्रश्नको जवाफ अर्थ राख्नेछ। बलियो अवस्थामा बढिरहेको एथ्लेटिको मड्रिडलाई ढलपल गरिरहेको रियल मड्रिडले रोक्न नसके त्यसको अंक अन्तर उपाधिको दाबेदार मानिने बार्सिलोनाका लागि समेत अप्ठ्यारो हुनेछ।
डिफेन्सिभ खेलका लागि तारिफ पाउने गरेका प्रशिक्षक सिमोनले अहिले अट्याकमा समेत टिमको भूमिका अब्बल बनाइरहेका छन्। १० खेलमा २१ गोलका कारण मात्र होइन टिमको समग्र शैलीमा नै निकै सुधार देखिन्छ नै। गएको हप्ता च्याम्पियन्स लिग खेलमा बायर्न म्युनिकसँगको १–१ को बराबरी त्यसैको प्रमाण पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।