काठमाडौं- एन्फिल्डमा ‘यु विल नेभर वाक एलोन’को तरंग महसुस गर्न नपाएको धेरैपछि दर्शकसहितको खेल भयो। प्रिमियर लिगमा वुल्भरह्याम्पटनसँग खेलेको खेलमा लिभरपुलले आफ्नो मैदानमा दर्शकलाई स्वागत गर्न पाएको हो। जहाँ कोरोना माहामारीका कारण गएको मार्चपछि पहिलोपटक दर्शकसहितको खेल थियो।
हुन पनि एन्फिल्डमा ‘यु विल नेभर वाक एलोन’ नगुञ्जीएको २ सय ७१ दिन भइसकेको थियो। जतिबेला च्याम्पियन्स लिग खेलमा एथ्लेटिको मड्रिड र लिभरपुल खेलेका थिए। अन्तिम १६ को पहिलो लेगमा १–० ले हारेको लिभरपुल घरेलु मैदानको दोस्रो लेगमा ३–२ ले हार्दै प्रतियोगिताबाटै बाहिरियो। विजेता छबी फर्काएको टिमका लागि त्यो निकै दुःखद थियो।
त्यसबेला झण्डै ५० हजार समर्थक खेलको प्रत्यक्ष साक्षी थिए। कोभिडको संक्रमण सुरु भइसकेको त्यो समय दर्शकसहितको भव्य खेल कोभिड फैलन मद्धत पुग्ने स्थल बनेको भन्दै पछि आलोचना समेत भयो। अहिले दुई हजारको संख्यामा मात्र दर्शकलाई भौतिक दुरीसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उपस्थिति दिइयो।

दर्शकको संख्या कति छ भन्नेमा भन्दा दर्शक हुनु र नहुनुको भिन्नता टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेर्नेले समेत अनुभव गरिरहेकै थिए। दर्शकबिनाको शान्त फुटबल खल्लो भइरहेको थियो। दर्शक मैदान फर्किंदाको खुसीमा लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले उत्साह र रोमाञ्चकताले आफ्नो रौँ ठाडो भएको प्रतिक्रिया दिए। ‘१० महिनापछिको दर्शकसहितको यो समय अलि भावुक पनि रह्यो।
गएको सिजन लिग जित्दाको खुसीमा समेत लिभरपुलले ‘यु विल नेभर वाक एलोन’ गुञ्जनमा दर्शकसँगै रमाउन पाएन। लिभरपुल मन पराउनेहरुले त्यतिबेला आँसु थाम्न सकेनन्। गजवको गीतसँगै जोडिएको भावना छोपेर पनि कसरी छोपिनु। त्यसले लिभरपुलको ऐतिहासिक उपलब्धीलाई भावनात्मक रुपमा जोड्ने मात्र होइन क्लबको विरासत र संस्कृति पनि बुझाउँछ।
कोभिडका कारण फेरिएका खेलमा अब विस्तारै दर्शकको उपस्थिति बढ्दैछ। दर्शक ठूलो संख्यामा भेला हुन पाउने अवस्था आएपछि गएको सिजनको लिग जितेको खुसी दर्शकसँग साट्ने क्लोपको वाचा पनि बाँकी नै छ। यसैले अहिले फर्किएका दर्शक सुरुवाती प्रयास मात्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।