काठमाडौं- काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ।
महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अन्तर्गत नेपाल भाषा पठनपाठन गर्न/गराउन चाहनेका लागि ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरेको हो।
सो पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयहरु समेटिएका छन्।
काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेल जस्ता विषयसमेत पाठ्यक्रममा समेटिएको महानगरको शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो।
महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालय र ६ सय ४० वटा संस्थागत विद्यालयहरु रहेका छन्। यी सबै विद्यालयमा एक सय पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुने पनि ढकालले बताए।
स्थानीय विषय अन्तर्गत विभिन्न क्षेत्रका विभिन्न विषय समावेश गर्न सकिने राष्ट्रिय पाठ्यक्रम प्रारूपमा व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।