काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको स्थायी कमिटी बैठकमा अल्पमत र बहुमतको विषय नउठेको बताएका छन्। सार्वजनिक खपतका लागि मात्र त्यस्ता विषयमा बैठकबाहिर बोलिएको उनले बताएका हुन्।
पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले पार्टी विधानबमोजिम सहमति गरेर अगाडि बढिने बताए। ‘स्थायी कमिटी बैठकमा अल्पमत-बहुमतका आधारमा निर्णय गरिने विषयमा छलफल भएको छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘तपाईहरु (पत्रकार) प्रश्न सोध्नुहुन्छ। नेताहरु बोल्नुहुन्छ। बाहिर बोलेपछि त्यो सार्वजनिक खपतका लागि मात्रै बोलेको देखिन्छ।’
स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रतिवेदन पेस भएपनि पार्टीमा छलफल गरी सहमतिका आधारमा अगाडि बढिने गुरुङको भनाइ छ। अहिलेको मुख्य उद्देश्य पार्टी एकता जोगाउने रहेकाले सहमती गर्नुको विकल्प नभएको उनको तर्क छ।
‘आजको बैठकमा प्रचण्ड कमरेडले पार्टी एकतालाई जोगाउने हो। एक हप्तापछि हुने बैठकमा तयारी गरेर आउँनुस्,’ प्रचण्डको भनाई उदृत गर्दै गुरुङले भने, ‘समस्याको समाधान कसरी गर्ने? प्याकेजमा समस्या समाधान गरी निर्णय गरेर अगाडि बढ्ने भन्नु भएको छ।’
स्थायी कमिटीमा निर्णय भएपछि मात्रै केन्द्रीय कमिटीमा निर्णय गरिने प्रचण्डले भनाइ रहेको मुख्यमन्त्री गुरुङले उल्लेख गरे। स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई एजेन्डाको विषय बनाइएकाले अध्यक्ष केपी ओली बैठकमा उपस्थित नभएको गुरुङको भनाइ छ।
‘प्रचण्डको आरोपत्रलाई जुन एजेन्डा बनाउन खाजिएको छ, त्यसमा आफ्नो असहमति रहेको भन्दै अध्यक्ष ओलीले पत्र पठाएको समेत उनको भनाइ छ। 'म स्वच्छ संवाद र छलफलका लागि जहिल्यै पनि तयार छु,’ अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै गुरुङले भने।
'कोरोना संक्रमण हुने आशंकाले प्रधानमन्त्री आइतबारको बैठकमा अनुपस्थित हुनुभएको हो,' गुरुङले भने ‘आजको एजेन्डा आन्तरिक समस्याबारे भन्ने थियो। त्यो एजेण्डा नबनाएर आरोपपत्रलाई एजेन्डा बनाइएपछि बैठकमा सहभागी हुनु भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।