काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले यसरी पार्टी अनिर्णित भएर नबस्ने बताएका छन्। आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै रावलले पार्टी विधि पद्धतिअनुसार अगाडि बढ्ने बताए। आगामी बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले यथोचित निर्णय गरेर अगाडि बढ्ने उनले बताए।
‘पार्टीका बैठकहरुले निर्णय गर्छन्। प्रत्येक व्यक्तिका धारणाहरु हुन्छन्‚ जसका जस्तो दृष्टिकोण भएपनि पार्टी अनिर्णयको बन्दी बन्दैन। यो कुरा सुश्चित छ‚’ रावलले भने, ‘तर, पार्टीमा समस्या उत्पन्न भइसकेपछि हामीले ती समस्याहरुलाई कति हदसम्म छलफल गर्ने? कुन स्तरमा छलफल गर्ने‚ कति समय दिने भन्ने कुरा लचकता पनि हुन सक्छ।’ पार्टीमा देखिएका समस्याले समर्ग देशलाई प्रभावित पारेको गम्भीर भई छलफल गरिने रावलले बताए।
प्रधानमन्त्री केपी ओली स्थायी कमिटी बैठकमा सशरीर उपस्थित नभएपनि पत्रद्वारा उपस्थित भएकाले अनुपस्थित भएको भन्न नमिल्ने रावलले दाबी गरे। ‘आगामी बैठकमा प्रधानमन्त्रीज्यू आउनुहुन्छ। बैठकमा पार्टीको अध्यक्ष नआउने भन्ने प्रसंग कुनै हिसाबले मिल्दैन‚’ रावलले भने, ‘हाम्रा अगाडि जे जस्ता समस्याहरु छन्। ती समस्याहरुको समाधान गर्नको लागि गम्भीर रुपमा छलफल गर्छौं। त्यहीँबाट निष्कर्ष निकाल्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।